तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावमा लुम्बिनी गुरुयोजना रोकिँदैन: अर्थमन्त्री पौडेल

रुपन्देही । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजना अब समयमै पूरा हुने बताउनुभएको छ।

शुक्रबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अब बजेटको अभावले लुम्बिनी विकासको काम रोकिने अवस्था नरहेको प्रष्ट पार्नुभयो ।

‘लुम्बिनी गुरुयोजनाको बाँकी काम अब पूरा समय दिएर अघि बढाइनेछ । निश्चित समयमै काम सम्पन्न हुनेछ’ उहाँले भन्नुभयो ‘पैसाको अभावले यो काम रोकिएको होइन, अब स्रोतको कमी बहानामा योजना थाँती राखिँदैन ।’

उपप्रधानमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना केवल लुम्बिनी विकास कोषको दायरा भित्र मात्र सीमित नभएको बताउँदै यसलाई समग्र क्षेत्रीय दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको मात्रै कुरा गरेर लुम्बिनीलाई साँघुरो ढंगले बुझ्न हुँदैन । देवदह, रामग्राम, तिलौराकोट, सैनामैना, कपिलवस्तुसहितका सम्पूर्ण क्षेत्रलाई समेटेर वृहत् लुम्बिनी क्षेत्र निर्माणतर्फ जानुपर्छ ।’

उहाँका अनुसार विख्यात जापानी आर्किटेक्ट केन्जो टाँगेले बनाएको योजना केवल एउटा हिस्सा हो, अब त्यसबाहिरको सम्पूर्ण लुम्बिनी क्षेत्रलाई समेटेर नयाँ योजना अघि बढाइनेछ । ‘विश्व बैङ्कसमेत समग्र लुम्बिनी क्षेत्रको निर्माणका लागि तयार भएको अवस्थामा अब स्रोतको अभावमा काम अघि नबढ्ने भन्ने कुरा स्वीकार्य हुँदैन’ पौडेलले थप्नुभयो ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको विषयमा आएको आलोचनाप्रति उहाँले हिजो बन्दैछ भनेर आलोचना गरियो, अब त बनेपछि ‘नचल्ने’ भनेर प्रचार गरिरहेको र  यस्तो निराशावादी टिप्पणी गर्नेहरू अब फेल हुने जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘काम गर्दा केही समस्या त आएका थिए, केही छन् पनि, तर ती समाधानको चरणमा छन् । यो विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नुको विकल्प छैन । यो रुपन्देहीको मात्र नभई समग्र लुम्बिनी क्षेत्रकै नमूना आयोजना हो । यसका बारेमा निराशाजनक धारणा बनाउनु हानिकारक हुन्छ ।’

अर्थमन्त्री पौडेलले विकासको काममा सधैँ ‘भएन’, ‘हुँदैन’ भनेर आलोचना गर्नेलाई लक्षित गर्दै भन्नुभयो, ‘साना कमजोरी खोजेर मात्र आलोचना गर्ने बानीले भएका काम पनि ‘भएन’ भनिँदै रोकिन्छन् । जे भइसकेको छ, त्यसलाई स्वामित्व लिँदै, जे बाँकी छन्, त्यसलाई दबाब दिँदै अघि बढ्नुपर्छ ।’

उहाँले रुपन्देहीको विकासमा दीर्घकालीन महत्व राख्ने कालीगण्डकी डाइभर्सन आयोजना पनि अघि बढिसकेको बताउनुभयो । ‘धेरैलाई पत्यार नलाग्न सक्छ, तर कालीगण्डकी डाइभर्सन आयोजना व्यवहारमा अघि बढिसकेको छ’ उहाँले स्पष्ट पार्नुभयो।

पौडेलले लुम्बिनी क्षेत्रको विकास अब भाषण र वाचा मात्र नभइ, कार्यान्वयनको तहमा अघि बढ्ने विश्वास दिलाउनुभयो । विश्वकै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको हैसियतमा लुम्बिनीलाई विश्वस्तरमा अझ प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्यसहित समग्र योजनाहरू सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button