तपाईँ सुन्दै हुनुहुन्छः

मना गाउँका बासिन्दाको जीवनशैलीमा रोपवेको परिवर्तन

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–५ मनाका स्थानीयवासीको लागि २०७३ सालमा निर्माण भएको बडिमालिका ग्राभिटि रोपवे यथार्थमा वरदान बनेको छ।

भौगोलिक रूपमा निकै विकट र भिरालो क्षेत्र कटेपछि मात्र पुग्न सकिने मना गाउँका स्थानीय रोपवे बन्नु अघिसम्म झन्डै तीन घण्टा लामो उकालो बाटो पार गरेर दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर ढुवानी गर्नुपर्ने बाध्यात्मक अवस्थामा थिए। अहिले भने सो बाध्यता हटेको छ।

युरोपेली युनियन,प्राक्टिकल एक्सन को आर्थिक तथा प्राविधिक सहयोग तथा प्राक्टिकल एक्सन र मानव संसाधन केन्द्र बाजुराको साझेदारीमा निर्माण गरिएको बडिमालिका ग्राभिटि रोपवे बाट हाल दैनिक उपभोग्य सामग्री सहज ओसार पसार भइरहेको छ। बडिमालिका नगरपालिका –४ तिपाडा हाट बजार बाट बडिमालिका–५ मना स्टेसनलाई रोपवेले जोडेको छ। करिब ८ सय ९ मिटर लम्बाइ रहेको यो रोपवेको भिरालोपन ३४ डिग्री रहेको छ।

सामान ओसारपसार गर्न अत्यन्तै उपयोगी रहेको यो रोपवेको भारवहन क्षमता तलबाट माथितिर ४० केजी र माथिबाट तलतर्फ ९० केजी रहेको छ। एक मिनेट ३० सेकेन्डमै सामान एक छेउबाट अर्को छेउ पुग्ने क्षमता रहेको यो रोपवेले स्थानीयको दैनिक जनजीवनलाई अत्यन्तै सरल बनाएको स्थानीय शम्भु साउदले बताउनुभयो।

“पहिले हामी भिरालो उकालो बाटोमा तीन घण्टा हिँडेर सामान बोक्थ्यौँ, अहिले रोपवेले त्यो सबै समस्या हटाइदिएको छ,” उहाँले भन्नुभयो।

रोपवे हरेक बुधवार सञ्चालनमा आउने गरेको अपरेटर दिलु साउदले बताउनुभयो । कुल २६ लाख ५६ हजारमा निर्माण गरिएको उक्त रोपवेले स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता प्रदान गर्नुका साथै समय र श्रमको बचतका साथै बडिमालिका नगरपालिका –५ मनाका लागि विकासको प्रतीक बन्न सफल भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button