तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाको सेवा काठमाडौँमा 

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगरपालिकाबाट प्रदान गर्ने जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा काठमाडौँमा नै उपलब्ध गराउन पहिलो पटक एकीकृत सेवा शिविरको आयोजना गरेको छ । 

राजधानीको कपनमा आइतबारबाट सञ्चालन गरेको एकीकृत सेवा शिविर मार्फत विभिन्न कामको सिलसिलामा काठमाडौँमा बसोबास गर्ने नगरपालिका क्षेत्रका नागरिकलाई सेवा प्रदान गरिएको हो ।

शिविरको औपचारिक उद्घाटन गर्दै सोलुदुकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले विभिन्न पेसा व्यवसाय गरेर राजधानीमा बस्ने नगरवासीहरूको सहजताका लागि शिविर आयोजना गरिएको बताउनुभयो । 

शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण, जग्गाको तिरोसम्बन्धी सेवा तथा पञ्जिकरण अन्तरगत जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणीकरण, बसाइँ सराइ लगायतका सेवा प्रवाह गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालन हुने शिविरमा सात सय नागरिकले सेवा लिने आङ्कलन गरिएको उहाँले बताउनुभयो । 

११ वटा वडा रहेको नगरपालिकामा सबै वडा अध्यक्ष तथा वडा सचिवहरू सेवा प्रवाहका लागि काठमाडौँमा रहेका छन् । बसेकै स्थानबाट स्थानीय तहको सेवा पाउँदा खुसी भएको सेवाग्राहीले बताएका छन् ।

यस्तै, थुलुङ दूधकोशी गाउँपालिकाले आयोजना गरेको एकीकृत सेवा शिविरमा उत्साहजनक उपस्थिति रहेको छ । पहिलो दिन पालिकाका तीन सय भन्दा बढी नागरिकले सेवा लिएका छन् भने दोस्रो दिन पनि उस्तै उत्साह देखिएको छ । 

शनिवारबाट सञ्चालन भएको शिविरका पहिलो दिन तीन सय ७८ जनाले सेवा लिएका छन् ।

वर्षा यामका कारण आवागमनमा समस्या भएर गाउँपालिकासम्म पुग्न कठिनाइ हुने भएकाले कारण काठमाडौँमा आएर बसोबास गरिरहेका स्थानीयहरूलाई सहज रूपमा सेवा पुर्‍याउने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष अशिम राईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button