तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मल अभाव: किसान भारतीय सीमाबाट अवैध रूपमा मल ल्याउन बाध्य

बाँके। मुख्य खेतीपातीको समय सुरु हुँदै गर्दा बाँके जिल्लामा रासायनिक मलको अभाव तीव्र बनेको छ। सरकारी अनुदानको मल समयमा नपुग्दा किसानहरू हैरान भएका छन्। कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ८ सय मेट्रिक टन मल वितरण गर्ने लक्ष्य राखे पनि माग अनुसार आपूर्ति हुन सकेको छैन।

शाखा प्रमुख पुष्पराज श्रेष्ठका अनुसार, मलको माग ११ हजार मेट्रिक टन पुगे पनि प्राप्त मात्रा निकै कम छ। अहिले युरिया मलको मौज्दात २५७ मेट्रिक टन मात्र रहेको छ। डिएपी र पोटासको मौज्दात क्रमशः १८ र ६ मेट्रिक टन छ।

धान रोपाइँको मुख्य समय चलिरहेका बेला किसानहरूले समयमै मल नपाउँदा उत्पादनमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन्। किसान भागीराम थारुले “खेती त जसोतसो गरियो, युरिया पाइँदैन, पाइहाले पनि महँगोमा किन्नुपर्छ” भन्दै असन्तोष व्यक्त गरे।

सरकारी आपूर्ति नपुग्दा सीमावर्ती गाउँका किसानहरू भारतीय बजारबाट अवैध रूपमा मल ल्याउन बाध्य छन्। भारतीय र नेपाली सुरक्षाकर्मीबाट जोगाउँदै ल्याउनु पर्ने अवस्थाले उनीहरूलाई थप अप्ठेरो परेको छ। किसानहरूले कालोबजारी र तस्करी मौलाउँदै गएको गुनासो गरेका छन्।

अहिले बाँकेका ८ स्थानीय तहमा १ सय ४१ सहकारीमार्फत मल वितरण गरिँदै आएको छ। तर, स्थानीय सिफारिस र ढिलो आपूर्तिका कारण किसानको हातमा मल समयमै नपुग्ने अवस्था दोहोरिँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button