तपाईँ सुन्दै हुनुहुन्छः

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

बेलायत । अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित हुनुभएको छ । 

महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित हुनुभएको हो । 

सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरूको सशक्तीकरण र महिला स्वास्थ्य, पुर्नजीवन र क्यान्सर पीडितहरूको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताउनुभयो । 

सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको बताउनुभयो । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एसियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिनुभयो । “यो क्षण म जीवनभर सम्झिरहने छु”,  उहाँले भन्नुभयो, “यो साँच्चिकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लड्र्समा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तीकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।” 

बङ्गलादेश, भारत, पाकिस्तान र नेपाललगायतका ग्रामीण भेगमा अनेक कष्ट सहेर बाचिरहेका महिलाहरू पीडित नभई योद्धा भएको उहाँको भनाइ छ । दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभयो । शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरैका लागि वास्तविकता भएको स्मरण गर्नुभयो । 

आयोजक पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबिईले हाउस अफ लर्डस्मा सम्मानित हुनुहुने कोइराला सम्भवतः प्रथम नेपाली महिला भएको जानकारी दिनुभयो । दक्षिण एसियालगायत विश्वभरका महिलाको सशक्तीकरणमा उहाँले पुर्‍याउनुभएको योगदानलाई सम्मानित गर्ने यो कार्यक्रममा आयोजकको भूमिका निर्वाह गर्न पाएकोमा खुसी उहाँले खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरू तथा दक्षिण एसियामा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button