पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक ः मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको विचारलाई व्यवहारमा उतार्न सक्दा मात्र राष्ट्रको दीर्घकालीन हितमा काम गर्न सकिने बताउनुभएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले पुष्पलालको योगदान प्रति श्रद्धा व्यक्त गर्दै देश प्रेम, समाजवाद र समानताको पक्षमा उहाँले देखाएको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
पुष्पलालले कठोर परिस्थितिमा पनि समाजवाद, समानता र न्यायको पक्षमा अडिग रही कम्युनिस्ट आन्दोलनलाई संस्थागत गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्री कँडेलले उत्पीडित वर्गको पक्षमा बुलन्द आवाज उठाउन पुष्पलालले देखाएको साहसिक बाटोलाई पछ्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का प्रदेश, जिल्ला, स्थानीय नेता र स्थानीय जनप्रतिनिधि, युवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्