तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा चैते धान उत्पादन वृद्धि

 कैलाली । कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले गत वर्ष जिल्लामा पाँच हजार ७२० मेट्रिक टन चैते धान उत्पादन भएकामा यस वर्ष आठ हजार १०० मेट्रिक टन उत्पादन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष चैते धान खेतीको क्षेत्रफल पनि बढेको छ । जसले गर्दा उत्पादनमा वृद्धि भएको हो ।”

जिल्लामा गत वर्ष एक हजार १०० हेक्टर जग्गामा चैते धान खेती गरिएकोमा यस वर्ष एक हजार ५०० हेक्टरमा खेती गरिएको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी ओझाका अनुसार यस वर्ष चैते धानको उत्पादकत्वसमेत वृद्धि भएको छ । गत वर्ष चैते धानको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष पाँच दशमलव चार मेट्रिक टन प्रतिहेक्टर पुगेको हो । 

सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धान खेती गर्ने गरिएको बताउँदै उहाँले जिल्लाका अति डुबान प्रभावित हुने अन्य क्षेत्रका किसानले चैत धान खेती गर्दै आएका उल्लेख गर्नुभयो । चैते धान खेतीका लागि किसानलाई ५० प्रतिशत अनुदानमा ज्ञान केन्द्रले यन्त्र उपकरण, बीउ, विषादीलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको सूचना अधिकारी ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button