मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक
काठमाडौँ । सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन सम्बन्धी हस्तान्तरण पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ ।
साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताहरू मध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्ने सम्झौता एक भएको जानकारी दिनुभयो ।

सञ्चार मन्त्री गुरुङले विश्व बैङ्कबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सन्दर्भमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको पनि बताउनुभयो ।
सरकारले, साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई स्वीकृति प्रदान गरेको, साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा सञ्चालन हुने (कन्भेन्सन् अन् वेट्ल्यान्डस्) कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित आर्थिक परियोजना तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिताका लागि आवश्यक स्वीकृति प्रदान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्