तपाईँ सुन्दै हुनुहुन्छः

फाइभ जी नेटवर्क जतिसक्दो छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटवर्क सुचारु गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ । 

मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापक बनाउँदै फाइभ जी नेटवर्कको थालनी तत्कालै गर्न निर्देशन दिनुभएको हो । 

मन्त्री गुरुङका अनुसार आफूले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटवर्कको सुरु गर्न भन्दै आए पनि एक वर्ष पुगिसक्दा त्यसको कार्य सम्पादन नहुनु दुख लाग्दो विषय रहेको बताउनुभयो । उहाँले अब भने चाँडो भन्दा चाँडो नेटवर्क विस्तारमा गर्नु पर्ने बताउनुभयो । 

छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु पर्याप्त नरहेको स्पष्ट पार्नुभयो । उहाँले फोर जि नेटवर्क हरेक जनताका घर घर मा पुर्‍याउने काम प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै,  इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महशुस गर्नबाट वञ्चित रहने, डिजिटल सुशासन कायम गर्न चुनौती देखा पर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

साथै मन्त्री गुरुङले नेपाल टेलिकमको प्रचार प्रसार गतिविधि निकै कम भएको औँल्याउँदै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा प्रचार गरेर एनटीसीबारे जनतालाई सुसुचित गराउन अनुरोध गर्नुभयो । 

छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटीएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनु पर्ने अनुरोध गर्नुभयो । उहाँले सूचना प्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजना समेत बनाउन निर्देशन दिनुभयो । 

एनटीएका अध्यक्ष भुपेन्द्र भण्डारीले फाइभ जि नेटवर्क सुचारु गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको मन्त्री समक्ष जानकारी दिनुभयो । अब केही समयमै टेन्डर प्रक्रिया थालनी गरेर नेटवर्क विस्तार सुचारु गर्ने उहाँले बताउनुभयो । 

एनटीसीका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के (प्रधान)ले पनि फोर जि विस्तार निरन्तर कार्य भइरहेको र फाइभ जि लन्च गर्ने तयारीमा जुटेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button