पूर्व सरकारी कर्मचारीको रहरलाग्दो ड्रागन फ्रुट्स फार्म
कास्की । सपना सबैका फरक फरक हुन्छन् । तर, पोखरा २५ हेम्जाका मित्रलाल त्रिपाठीको सपना बेग्लै छ । वर्षौंसम्म बाँझो रहेको जमिनमा विश्वका कयौँ प्रजातीका ड्रागन फ्रुट्सका बोट जम्मा गर्ने, तिनको अनुसन्धान, अध्ययन र परिक्षण गर्ने । अनुसन्धान परिक्षण गर्दागर्दै उहाँले अहिले ९० प्रजातीका ड्रागन फ्रुट्सका बिरुवाहरू आफ्नो फार्ममा लगाएर लाखौँ आम्दानी गरिरहनुभएको छ ।

फार्म सञ्चालन गरेर अहिले उहाँ नेपालमै उदाहरणीय बन्नुभएको छ । वि.स. २०८० साल बैशाख १२ गते एउटा सानो बिरुवाबाट ड्रागन फ्रुट्स फार्म सुरु गर्नुभएका त्रिपाठीको फार्ममा अहिले देशदेखि विदेशका ९० प्रजातीका ड्रागनका बोटहरू रहेका छन् ।
‘म कृषककै छोरा हुँ । ३५ वर्ष म नेपाल सरकारको जागिरबाट सेवानिवृत भए । त्यसपछि म खाली किन बस्ने, टोलमा रहेका चिया पसलहरूमा गएर गफ लगाउनु भन्दा केही गर्नुपर्छ भन्ने सोच पहिल्यैदेखि बनाएको थिएँ । पछि बाँझो जमिन नराखौँ, केही न केही लगाऊँ भन्ने नारा नै बोकेँ, त्यस पछि यो फार्म सुरु गरे ।’
पोखरा २५ हेम्जाको फुर्केटारीमा रहेको फुर्केटारी एग्रो फार्ममा २ हजार भन्दा धेरै ड्रागन फ्रुट्सका बोट रहेका छन् ।

पहिलो पटक विदेशमा गएर ड्रागन फ्रुट्स चाखेको बताउने उहाँले यो फल नेपालमा कस्तो हुन्छ होला भनेर जानकारी लिएर आफ्नो बाँझो रहेको १० रोपनी जग्गामा ड्रागन फ्रुट्स लगायत ड्रागन फ्रुट्सका धेरै प्रजाति हुन्छन् । तर, उहाँकोमा ९० प्रजाति भन्दा धेरै प्रकारका बिरुवा रहेका छन् ।
सुरुको दिनमा इन्डोनेसियाबाट अनलाइनबाट बिरुवा मगाएर उहाँले घरको गमलामा लगाएर सुरु गरेको बताउनुभयो । अहिले उहाँको फार्ममा अमेरिका, भियतनाम, थाइल्याण्ड, चीन लगायत देशबाट मगाइएका बिरुवा र बोट रहेका छन् ।
सुरुका दिनहरूमा गाउँलेहरूले यस्तो काँडा किन लगाएको होला भनेर खिसीटिउरी गरेका थिए । फार्मबाट पूर्ण रुपमा उत्पादन नहुँदै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको उहाँले बताउनुभयो । फुलफेजमा उत्पादन हुँदा ६ सयदेखि ८ सय टन उत्पादन हुने बताउनुभयो ।

फार्म निमार्ण गर्न अहिले सम्म ५० लाख भन्दा धेरै खर्च भइसकेको छ । असिनाबाट खेती बचाउन जाली राख्न मिल्ने गरी फलामका पोलहरू समेत राखिएको छ । उहाँको फार्ममा अहिले ४ जनाले रोजगारी समेत पाइरहेका छन् ।
आगामी दिनहरूमा फार्मलाई अनुसन्धानमूलक बनाउने उहाँको इच्छा छ ।
प्रतिक्रिया राख्नुहोस्