तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई लागु औषधमुक्त बनाऔँ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागु औषधमुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँको कोटेश्वरस्थित लागु औषध नियन्त्रण ब्युरो कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागु औषधको उत्पादन, भण्डार र प्रयोग ठुलो चुनौतीका रूपमा देखिएको बताउनुभयो ।

“लागु औषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ ।  हामीले एक वर्षमा लागु औषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ”, उहाँले भन्नुभयो, “यो अभियानमा आम नागरिकसहित सबैको सहकार्य आवश्यक छ ।”

विगत वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागु औषध नियन्त्रणमा प्रगति भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्ने गरी अगाडि बढ्नुपर्छ । स्रोतसाधनको कमी भए पनि धेरै काम गर्न सक्यौँ । त्यो यो एक वर्षमा देखिएको छ”, उहाँले भन्नुभयो । लागु औषधको बिगबिगी देखिएको भन्दै यस विरुद्धको अभियानमा सरकार सशक्त भएर लाग्ने बताउनुभयो ।

“युवामा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागु औषधमा फसेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागु औषध अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै नागरिकको जिम्मेवारी हो ।”

गृहमन्त्री लेखकले लागु औषध ब्युरोलाई विभागकै रूपमा विकास गरिने बताउनुभयो । “ब्युरोलाई विभागका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ”, उहाँले भन्नुभयो । लागु औषध ब्युरोलाई विभागका रूपमा विकास गर्न तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दीपक थापासहित प्रहरी प्रधान कार्यालयलाई उहाँले निर्देशन दिनुभयो । 

प्रहरी महानिरीक्षक थापाले लागु औषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने गृहमन्त्री लेखकको प्रस्ताव सराहनीय रहेको बताउनुभयो । उहाँले लामो समयदेखि नेपाल प्रहरी लागु औषध नियन्त्रणमा मुलुकभर सक्रिय रहेको जानकारी दिनुभयो । 

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ, लागु औषध नियन्त्रण ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायतको समेत सो अवसरमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button