प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

मुगु । कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो ।
मालपोत कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु ३० लाखसम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अङ्कमा जिरो दशमलव तीन प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अङ्कमा जिरो दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो ।
चालु आर्थिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा रु ३० लाखसम्मको थैली अङ्कमा एक दशमलव पाँच प्रतिशत, ३० लाखदेखि दुई करोड थैली अङ्कमा दुई प्रतिशत र दुई करोडदेखि माथिको थैली अङ्कमा दुई दशमलव पाँच प्रतिशत पुर्याइएको छ ।
यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा रु ३० लाखसम्मको एक प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अङ्कमा एक दशमलव पाँच प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अङ्कमा दुई प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिनुभयो ।
शतप्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन् । छायानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताउनुभयो । रासस
प्रतिक्रिया राख्नुहोस्