काँकरभिट्टा नाकाबाट चियाको निर्यातमा उल्लेख्य वृद्धि, अलैँचीको घट्यो
भद्रपुर, झापा । देशको पूर्वी नाका झापाको काँकरभिट्टा नाकाबाट चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ भने अलैँचीको निर्यात घटेको छ ।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा चियाको निर्यात ४०.५ प्रतिशतले बढेको छ ।
आ.व. ०८०/०८१ मा यो नाकाबाट १ करोड १४ लाख ९२ हजार ७५६ किलो चिया निर्यात भएकोमा आ.व.०८१/०८२ मा ३ अर्ब ६ करोड ६४ लाख ७८ हजार मूल्य बराबरको १ करोड ४४ लाख ६३ हजार ३६५ किलो चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो आ. व.को तुलनामा आ. व. ०८१/०८२ मा नगदेबालीको अलैँचीको निर्यात भने घटेको छ । आ.व. ०८०/०८१ मा ७ अर्ब ४६ करोड ६८ लाख ७६ हजार मूल्य बराबरको ४७ लाख १० हजार ८४० किलो अलैँची निर्यात भएकोमा आ.व. ०८१/०८२ मा ७ अर्ब १८ करोड १० लाख ७३ मूल्य बराबरको ३९ लाख ८९ हजार २५० किलो मात्र अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्