तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

मुस्ताङ । अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडक मार्ग आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बिहानदेखि परेको  अविरल वर्षाका कारण उक्त सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित ताङ्वे खोला र छुसाङस्थित मुस्ताङ गेट नजिककै बाढीका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बारागुङ–३ छुसाङस्थित मुस्ताङ गेट नजिकैका सडक माथिबाट लेदो र गेग्रानसहितको पहिरो खसेको र बारागुङ–३ छुसाङस्थित ताङ्वे नजिकको खोलामा लेदोसहितको बाढीले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।

ताङ्वे गाउँको नजिकको शाखा नदीमा लेदो र गेग्रानसहितको बाढीले करिब ३० मिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय छुसाङका प्रहरी सहायक निरीक्षक झलकबहादुर थापाले जानकारी दिनुभयो । 

सडक अवरुद्ध भएसँगै उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले अवरुद्ध सडकमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button