हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम
सिन्धुपाल्चोक । यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
हल गोरु पाल्ने दुई सय ४० किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । पछिल्लो समय प्रविधियुक्त ट्र्याक्टर भित्रिने क्रम बढेपछि हल गोरु पाल्ने प्रचलन हट्दै गएको भन्दै प्रोत्साहन गरिएको उहाँले बताउनुभयो ।
“खेत जोत्ने नयाँ नयाँ प्रविधि आइरहेका छन्, जसले गोरु पाल्ने चलन नै लोप हुने अवस्था आउन सक्छ । त्यसैकारण नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनको नीति लिएका हौँ”, नगरप्रमुख तामाङले भन्नुभयो ।
नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले अनुदान रकमका लागि पशु बिमा गर्नका लागि आग्रह गरिएको बताउनुभएको । यसरी बिमा भएका किसानलाई बैङ्क खातामार्फत र बिमा भएको तर बैङ्क खाता नभएका किसानलाई भरपाई गरेर रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
यस कार्यक्रमले किसानलाई प्रोत्साहन मात्र नभई प्राङ्गारिक मल उत्पादन गरी माटो सुधार र जैविक विविधता संरक्षणमा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्