‘कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको प्रमुख उद्देश्य’
सुनसरी । संघीय खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनुभएको छ ।

सुनसरीस्थित “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्याउने दिशामा केन्द्रित रहेको बताउनुभयो ।
यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताउनुहुँदै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री यादवले देशका सबै समुदायलाई समान रूपमा सेवा पुर्याउने र कसैलाई पनि पछाडि नपार्ने नीति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताउनुभयो ।
आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका झुम्का क्षेत्रका वडा नं. १, २, ३, र ५ का करिब २२ हजार ७८७ नागरिक र ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख महेसी महतोले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व सघीय सांसद नवदिता चौधरी, नगर प्रमुख शङ्कर लाल चौधरी, झुम्का खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, नगर उप–प्रमुख तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक राजेन्द्र सापकोटा, एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरत बम, उप–निर्देशक महेश न्यौपाने, खानेपानी तथा ढल निकास विराटनगर प्रमुख सुरतलाल चौधरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्