तपाईँ सुन्दै हुनुहुन्छः

जनताको आवश्यकता अनुसार सरकारले काम गर्ने: उर्जामन्त्री खड्का

भोजपुर । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सत्ता पक्ष मात्र नभएर अन्य दलहरूसँग पनि छलफल गरेर जनताको आवश्यकता अनुसार सरकारले काम गर्ने बताउनुभएको छ ।

पक्ष विपक्ष नभनी सबै दलसँग मिलेर बिकास निर्माण र संविधान संशोधन लगायतका काम सरकारले गर्ने मन्त्री खडकाको धारणा छ । संविधान संशोधनका विषयमा संविधान निर्माणमा रहेका सबै राजनीतिक दलहरूसँग सहकार्य र छलफल गरिने उहाँले बताउनुभयो । 

सरकारका निश्चित उद्देश्य र लक्ष भएको बताउँदै तल्लो तहका इच्छा आंकाक्षा पुरा गर्नु पनि चुनौती भएको मन्त्री खडकाको भनाई थियो । शनिबार सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटनका क्रममा उर्जामन्त्री खडकाले किमाथांका नाका देशकै महत्त्वको नाका भएको बताउँदै यो नाका १२ महिना चल्ने भएकोले यसमा सरकारको ध्यान गएको बताउनुभयो । 

किमाथांका नाकालाई अहिलेको सरकारले प्राथमिकता दिएर अगाडि बढेको दाबी गर्दे उहाँले किमाथांका नाकामा चीन सरकारको पनि विशेष चासो रहेकाे बताउनुभयो । ‘यो नाकामा चीनको सहयोग प्राप्त हुनेछ,’ उर्जामन्त्री खडकाले भन्नुभयो, ‘सडक जोडिएसँगै यो नाका सञ्चालनमा आउने छ । त्रिदेशीय सम्बन्धलाई विशेष महत्त्वका साथ हेर्नुपर्ने छ ।’ जिल्लामा ठूला जलविद्युत् आयोजनामा भारत सरकारको लगानी भएकोले दुवै छिमेकी मुलुकसँग सम्बन्ध कायम गरेर अगाडी बढ्न आवश्यक रहेको पनि मन्त्री खडकाले बताउनुभयो । 

ऊर्जाको क्षेत्रमा ८० प्रतिशत काम मन्त्रालयले गरेको बताउँदै उर्जामन्त्री खडकाले चैनपुरमा खुलेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दिगो उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button