बाँजथलामा देउडा : हराउँदै गएको संस्कृति पुनः जीवित

मुगु । मुगुको सदरमुकाम गमगढी नजिकै अवस्थित काँजथला हरियाली पार्क पछिल्ला दिनहरूमा स्थानीय बासिन्दा, कर्मचारी तथा युवा–युवतीको प्रमुख घुमघाम र रमाइलो गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिएको यस ठाउँबाट चंखेली हिमाल, प्रसिद्ध देवता थार्प मष्टा, मालिकी, मुगु कर्णाली नदी र गमगढी खोलाको संगम स्थल त्रिवेणीधाम, हुम्ला प्रस्थानको प्रवेशद्वार र गमगढीस्थित कालिका मालिका मन्दिर लगायतका दृश्य अवलोकन गर्न सकिन्छ।
साउने सङ्ग्रान्तिको अवसरमा यही रमणीय बाँजथलामा स्थानीय महिलाहरूले परम्परागत देउडा खेल्दै हराउँदै गएको सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने प्रयास गरेका छन्। माझपातल सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका सबै १४ वडाबाट महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमको मुख्य आकर्षण पुरुष र महिलाहरूको संयुक्त देउडा नृत्य तथा गायन रह्यो, जसले पुराना सांस्कृतिक मूल्य र पहिचानलाई नयाँ पुस्तामा पुनः उजागर गर्यो। सहभागीहरूले परम्परागत पोशाकमा सजिएर देउडा गाएर मनोरञ्जन लिएका थिए।
गमगढी बजारभन्दा केही उचाइमा रहेको बाँजथला दृश्यावलोकनका लागि उपयुक्त स्थान मानिन्छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक महत्वका कारण पछिल्ला समयहरूमा यस थलोको पर्यटकीय मूल्य झनै बढ्दै गएको वडा नं. २ का अध्यक्ष परेकराज चौलागाईंले जानकारी दिनुभयाे।
उहाँका अनुसार, “रमणीय बाँजथलालाई पर्यटनस्थलका रूपमा विकास गर्न सबै तहका सरकारको सहयोग प्राप्त भइरहेको छ। यसलाई व्यवस्थित रूपमा अगाडि बढाउँदै स्थानीय रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो।”

बाँजथलाको प्रवर्द्धनमा समाजसेवी ऐनबहादुर हमाल, माझपातल सामुदायिक वनका अध्यक्ष नवराज चौलागाईं र वडा अध्यक्ष परेकराज चौलागाईंको विशेष भूमिका रहेको स्थानीयहरू बताउँछन्।
स्थानीय बासिन्दा सुकित्रा रावल भन्छिन्, “देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरूले बाँजथलालाई सांस्कृतिक र पर्यटनको दृष्टिले थप महत्वपूर्ण बनाएका छन्।”
आयोजक समितिले यस्ता कार्यक्रमहरूले हराउँदै गएका संस्कृति संरक्षण गर्न र बाँजथलाको पर्यटन सम्भावनालाई उजागर गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा यो क्षेत्रलाई थप व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने योजना रहेको पनि समितिले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्