भूमि सम्बन्धि ऐन चाडै संशोधन हुन्छ : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूमि सम्बन्धी ऐन संशोधनको प्रक्रियामा रहेको बताउनु भएको छ ।
आज सुर्खेतको लेकबेशी नगरपालिका र भेरीगंगा नगरपालिकाका भूमिहीनलाई लालपुर्जा वितरण गर्दै उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेकाहरूको समस्या समाधानका लागि वर्तमान सरकार गम्भीर रहेको बताउनु भएको हो ।
उहाँले चाडै दलहरू वीच छलफल गरी भूमि सम्बन्धि ऐन संशोधन गरिने समेत जानकारी दिनु भयो । वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको पनि बताउनुु भयो । उहाँले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिनु भयो ।

जनतामा निराशा भन्दापनि जनप्रतिनिधिसँग असन्तुष्टि रहेको बताउँदै उहाँले जनताको कुँडिएका मनलाई मलम लगाउन आवश्यक रहेको औँल्याउनु भयो । उहाँले मत माग्दा भ्रमित हुनेगरी घोषणा पत्र बनाउने तर पछि काम नगर्ने चलनले मतदाता रिसाउने गरेको जिकिर गर्नु भयो । अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने दाबी गर्दै उहाँले प्रमुख दुई दल मिल्दा अहिले देशमा राजनीतिक स्थिरता भएको जनाउनु भयो ।
उहाँले वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली पछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुने दाबी गर्नु भयो । वर्तमान गठबन्धनले नै आगामी २०८४ को निर्वाचन गराउने उहाँको भनाई थियो । उपसभापति खड्काले आफू उपप्रधानमन्त्री हुँदा लालपूर्जा लिनका लागि यसअघि तिर्नुपर्ने दुई सय प्रतिशतसम्मको राजश्वलाई पाँचदेखि १० प्रतिशतसम्म झारेको स्मरण समेत गर्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्