मुलुकको समष्टिगत आर्थिक परिसूचक सकारात्मक: अर्थ मन्त्रालय
काठमाडौँ । अर्थतन्त्रका समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख र सुदृढ बन्दै गएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राजस्व र संघीय खर्चमा वृद्धि भएको छ भने बाह्य क्षेत्र सबल हुनुका साथै आन्तरिक अर्थतन्त्र क्रमशः लयमा फर्कँदै गएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा राजस्व सङ्कलन ११.३ प्रतिशत, संघीय खर्च ९.३ प्रतिशत, चालु खर्च ५.५ प्रतिशत पुँजीगत खर्च १६ प्रतिशत र वित्तीय व्यवस्था तर्फको खर्च १७.६ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०/०८१ मा मुलुकका आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने अनुमान छ ।
अर्थ मन्त्रालयका अनुसार पुँजी बजार तुलनात्मक रुपमा सबल बन्दै गएको छ । २०८१ असार मसान्तमा २२४०.४१ विन्दुमा रहेको नेप्से परिसूचक २०८२ असार मसान्तमा २७९४.७८ विन्दु कायम भएको छ ।
अघिल्लो आर्थिक वर्षको जेठसम्म कुल वैदेशिक व्यापार १.९ प्रतिशत र वस्तु व्यापार घाटा १.७ प्रतिशतले सङ्कुचन भएकोमा आर्थिक वर्ष ०८१/०८२ को जेठसम्म कुल वस्तु निर्यात ७७.८ प्रतिशतले बढेर २ खर्व ४७ अर्ब ५७ करोड र वस्तु आयात १३.१ प्रतिशतले बढेर १६ खर्व ४४ अर्ब ४० करोड पुगेको मन्त्रालयले जनाएको छ ।
अर्थ सचिव घनश्याम उपाध्यायले चालु आर्थिक वर्षको पहिलो दिन आज सबै मन्त्रालय/आयोग/सचिवालय र कार्यालयहरूलाई आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको मार्गदर्शन पठाउनु भएको छ ।
बजेटले लिएका उद्देश्य प्राप्तिका लागि उपलब्ध हुने श्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिताका साथै प्रभावकारी कार्य सम्पादन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्