मन्त्री यादवद्वारा तराई–मधेसको खानेपानी समस्या समाधान गर्न विज्ञहरुसँग छलफल

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि विज्ञ टोलीसँग छलफल गर्नु भएको छ ।
आज खानेपानी मन्त्रालयमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुसँग एक कार्यक्रमको आयोजना गरी वीरगञ्ज सहित तराई–मधेशका जिल्लामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएकाले त्यसको समाधानका विषयमा बृहत् छलफल गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि आज खानेपानी मन्त्रालयमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुसँग बृहत् छलफल सम्पन्न गरेका छौँ ।”
उक्त छलफलमा जलवायु परिवर्तन, तराई–मधेश क्षेत्रमा देखिएको भू–जल अभाव, जलस्रोतको खस्कँदो स्तर, चुरे दोहन, अव्यवस्थित शहरीकरण लगायतका कारणले मधेशमा उत्पन्न भएको खानेपानी सङ्कटबारे वैज्ञानिक विश्लेषण प्रस्तुत गर्नुका साथै, सहभागी विज्ञहरूबाट गम्भीर राय–सुझावहरू पनि सङ्कलन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार भू–जल पुनर्भरणका उपायहरू (पुनर्भरण पोखरी, वर्षा पानी सङ्कलन, हरित क्षेत्रको विस्तार), वैकल्पिक स्रोतको पहिचान तथा पानीको मितव्ययी प्रयोगमा प्रविधि र जनचेतनाको भूमिका जस्ता विषयहरूमा विस्तृत विचारविमर्श भएको छ ।
यसै सन्दर्भमा, छलफलमा सहभागी विज्ञहरुसँग एक अध्ययन टोली गठन गर्ने विषयमा सहमति भएको मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुख ई कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्ययन टोलीले तराई–मधेशका विभिन्न जिल्लाहरूको वर्तमान जल अवस्था, भू–जल संरचना, प्रदूषण स्तर तथा दीर्घकालीन समाधानका उपायहरूबारे विस्तृत विश्लेषण गर्नेछ ।
उक्त छलफलका क्रममा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरू वीरगञ्ज सहित तराई–मधेसमा खानेपानीको समस्या वर्षेनी किरा बन्दै गएकाले त्यसको समाधानका लागि अध्ययन सहित ठोस कदम चाल्नु पर्ने सुझाव दिनुका साथै समस्या समाधानका आफूहरू सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए ।
आजको उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, मीना श्रेष्ठ, आयोजना प्रमुख सुरत बम, खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, आयोजना निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद उपाध्याय, भ्याली बोर्डका प्रमुख सञ्जिवीक्रम राणा, पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरूका तर्फबाट भोला घिमिरे, देवीप्रसाद भट्टराई, प्रतापसिंह ताडबको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्