जनतामा देखिएका असन्तुष्टि समाधान गर्न काँग्रेस महामन्त्री शर्माको आग्रह
वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनतामा देखिएका असन्तुष्टि र पीडाको पहिचान गरी त्यसलाई समाधान गरेर अगाडी बढ्न सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस बाराद्वारा आज कलैयामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाटै मुलुकलाई समुन्नतिको उचाइमा पुर्याउन सकिने बताउनुभयो ।
महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गर्दै पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू एक ठाउँमा उभिएर मुलुकलाई स्थायित्व दिएको बताउनुभयो ।
उहाँले काँग्रेसमा फरक फरक बिचारलाई सुनेर सबैलाई समेटेर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै नागरिकको अपेक्षा र चुनौतीलाई बुझेर एकताबद्ध भई पार्टी कार्यकर्तालाई अगाडी बढ्न निर्देशन दिनुभयो ।
महामन्त्री शर्माले सङ्गठनमा सभापति देउवाले यो गर्नु भएन त्यो गर्नु भएन भनेर आलोचना गर्नुभन्दा सङ्गठनलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने तर्फ सबै एकजुट भएमा काँग्रेसलाई ०८४ को चुनावमा कुनै शक्तिले हराउन नसक्ने दाबी गर्नुभयो ।
नेपाली काँग्रेस बाराका सभापति राजेश यादवको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्