तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा तथा खानेपानी समस्या समाधानका लागि मुख्यमन्त्री सिंहद्वारा दातृ संस्थासँग बैठक

जनकपुर। मधेश प्रदेशका जिल्लाहरूमा लामो समयसम्म पानी नपरेपछि सिँचाइ तथा खानेपानीको समस्या उत्पन्न भएपछि सोको समाधानका लागि प्रदेश सरकार अग्रसर भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सहित मन्त्रीहरूको सहभागितामा मधेश प्रदेशमा क्रियाशील दातृ निकाय अन्तर्गतका संस्थाका प्रतिनिधिहरूसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज छलफल भएको हो ।

बैठकमा मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार खडेरी र खानेपानीको समस्या समाधानका आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै त्यसमा आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरू सँग आग्रह गर्नु भएको हो ।

उहाँले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरूबाट गर्न सकिने तत्कालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्न आग्रह गर्नु भयो ।

प्रदेशका नागरिकलाई तत्काल राहत महसुस हुने गरि काम गर्न आग्रह गर्दै यस्ता बैठकले निर्णय गर्ने नभई जनताले अनुभव गर्ने गरि काम गर्न जरुरी रहेको तथा प्रदेशका १ सय ३६ वटै पालिकाहरू सुख्खा र खानेपानीको समस्याबाट जुधी रहेकाले यो समस्या प्रदेशका आम नागरिकको समस्या रहेकाले यसको समाधानका लागि दातृ निकायका प्रतिनिधिहरूलाई सहयोगका लागि आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहले प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट सङ्कटमा रहेका वेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायसँग आग्रह गर्नु भयो । अहिले सुख्खाका कारण धान रोपाइ हुन नसकेको यसले आगामी दिनमा खाधान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला मन्त्रालयलाई निर्देशन दिनु भयो ।

अहिलेबाट नै काम सुरु गरौँ, कहाँ समस्या आउँछ मलाइ भन्नुहोस् तर अव नागरिकलाई यो समस्याबाट निकाल्नु हामी सबै दायित्व भएकाले गम्भीरतापूर्वक समस्या समाधानका लागि लाग्नुको कुनै विकल्प नभएको मुख्यमन्त्रीले बैठकमा बताउनु भयो ।

उहाँले सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक छलफल भइरहेको बताउनु भयो । मुख्यमन्त्रीले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन आग्रह गर्नु भयो ।

बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री,गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको सहभागिता रहेका थिए । बैठकमा दातृ निकायका प्रतिनिधीहरुले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको मुख्यमन्त्रीका सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button