तपाईँ सुन्दै हुनुहुन्छः

डोलेश्वर मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको तयारी पुरा भएको छ । 

मन्दिर संरक्षण तथा विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक बर्ष झैँ यस बर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाको तयारी पुरा भएको बताउनुभयो ।

श्रावणी मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्याधिक भीड हुने भए पनि पूजा गर्न एक घण्टाभन्दा बढी बस्न नपर्ने गरी व्यवस्था मिलाइएको बस्नेतले बताउनुभयो । 

अध्यक्ष बस्नेतका अनुसार, यसबर्ष मेलामार्फत भेटी र चन्दा सहयोगबाट १ करोड रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ । 

साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने भएको छ । 

मेलाको शुभारम्भ बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुहुने भएको छ समापन सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले गर्नुहुने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

मेलालाई थप प्रभावकारी बनाउन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरूबाट धार्मिक प्रवचन तथा कलाकारद्वारा भजन कीर्तन तथा प्रस्तुती गरिने भएको छ । 

मेला अवधिमा पाँच दर्जनभन्दा बढी स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास हुँदै गएको बताउँदै मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सिसीटिभीसमेत जडान गरिएको जानकारी दिनुभयो ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको महिमा जिल्ला र देशमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भइसकेको धार्मिक स्थलका रुपमा परिचित भएको बताउनुभयो ।

श्रावणी मेलामा शान्ति सुरक्षाका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिने र दर्शनार्थीको आवतजावतका लागि सार्वजनिक यातायातको सहज व्यवस्था गरिएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । 

पछिल्लो एक वर्षयता डोलेश्वरमा नेपाली रुपैयाँ बरावर भारतीय रुपैयाँ सङ्कलन हुनुले पनि भारतीय धार्मिक तीर्थयात्रीको सङ्ख्या बढेको बुझ्न सकिने समितिका महासचिव हरिरण बस्नेतको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button