भानु जयन्तिमा साहित्य सम्मान

दोलखा । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा दोलखा सदरमुकाम चरिकोटमा आयोजित विशेष कार्यक्रममा जिरीमा रहेर साहित्य लेखनमा सक्रिय पूर्व शिक्षक टेक बहादुर जिरेललाई भानु–विद्यापति साहित्यिक पुरस्कार– ०८२ प्रदान गरिएको छ ।
भानु–विद्यापति साहित्यिक प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले लेखक जिरेललाई ११ हजार एक सय ११ रुपैया नगद सहित भानु– विद्यापति साहित्यिक पुरस्कार– २०८२ प्रदान गर्नुभएको थियो ।
सो अवसरमा भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा भानु– विद्यापति साहित्यिक प्रतिष्ठानले प्रकाशन गरेको दोलखा साहित्य यात्रा– ६ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा विद्यार्थी तथा साहित्यकारहरुले रामायण बाचन समेत गर्नुभएको थियो ।
भानु– विद्यापति साहित्यिक प्रतिष्ठान दोलखाका अध्यक्ष शङ्करलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, वडा नम्बर– ४ का वडा अध्यक्ष तारानाथ चौलागाई, बिष्णुलक्ष्मी साहित्यिक प्रतिष्ठानका संरक्षक चिरञ्जीवी मास्के, साहित्यकार बिर्ख क्षेत्री, समिरा वस्नेत, प्रगतिशिल लेखक संघ दोलखाका अध्यक्ष तारा विएम, भानु– विद्यापति साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष सुशीला शर्मा, सचिव सुन्दर खड्का लगायतले मन्तवय व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्