कोहलपुरमा १२२ जनालाई जग्गाधनी प्रमाण–पुर्जा वितरण

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ ।
भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा आज बिहीबार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,संघीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको हातमा जग्गाको लालपुर्जा पुर्याउने अठोटका साथ काम अघि बढाएको छ । यसमा प्रदेश सरकारको साथ र सहकार्य रहेको उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री आचार्यले बर्षौंसम्म भूमि अधिकारबाट वञ्चित भएका नागरिकहरूलाई अधिकार दिलाउन सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । कोहलपुर नगरपालिका वडा नं. १ का एक सय २२ जना अव्यवस्थित बसोबासीलाई मुख्यमन्त्री आचार्यले जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्नुभयो ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्