तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारद्वारा चालु आवमा कूल बजेटको ७१.४८ प्रतिशत खर्च 

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको असार २५ गतेसम्ममा कूल बजेटको ७१.४८ प्रतिशतले खर्च गरेको छ । देशमा सङ्घीयता आएको सात वर्षमा सबैभन्दा उच्च दरको खर्च यस पटक भएको हो । 

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट मध्ये ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार खर्च गरेको मधेश प्रदेशका अर्थ मन्त्रालयले जनाएको छ । 

खर्च भएको रकम मध्ये चालु तर्फ विनियोजन भएको १५ अर्ब २८ करोड ९६ हजार रकम मध्ये ९ अर्ब ७८ करोड ७३ लाख १२ हजार खर्च भएको छ । जून कूल बजेट मध्ये ६४.६४ प्रतिशत भएको अर्थ मन्त्रालयले जनाएको छ । 

यसै गरि पूँजीगत तर्फ विनियोजन भएका २८ अर्ब ६१ करोड ७० लाख ६४ हजार रकम मध्ये मध्ये २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार रकम खर्च भएको छ । जून कूल विनियोजित बजेट मध्ये ७५.१४ प्रतिशतले विकास खर्च भएको छ । 

विकास खर्च मध्ये सबैभन्दा बढी खर्च अर्थ मन्त्रालयले गरेको छ । सो मन्त्रालयका लागि विनियोजन गरिएको बजेट मध्ये ८३.३६ प्रतिशत रहेको छ । शिक्षा तथा संस्कृति मन्त्रालयका लागि विनियोजन भएको बजेट मध्ये ७७.३१ प्रतिशत गरेको छ । सबैभन्दा कम खर्च मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको छ । सो कार्यालयका लागि छुट्याएको बजेट मध्ये ३४.०६ प्रतिशत र त्यसपछिको कम खर्च गर्ने श्रम तथा यातायात मन्त्रालय रहेको छ । सो मन्त्रालयका लागि विनियोजन भएको बजेट मध्ये ३८.१९ प्रतिशतले खर्च गरेको तथ्याङ्क मधेश प्रदेशका अर्थ मन्त्रालयले जनाएको छ । 

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रेडियो नेपालसँग कुरा गर्दै संघीय गणतन्त्र स्थापना भएको सात वर्षमा नै सबैभन्दा बढी विकास खर्च गरेर आफ्नो नेतृत्वको प्रदेश सरकारले नयाँ इतिहास बनाएको बताउनु भयो । उहाँले यसमा सहयोग गर्ने सबै मन्त्री तथा मन्त्रालयका सचिव एवं कर्मचारीहरू बधाईका पात्र भएको बताउनु भयो । 

एक प्रश्नको जवाफमा मुख्यमन्त्री सिंहले यस अघि पाँच वर्षसम्म स्थिर सरकार भएपनि यस्तो प्रकारको खर्च नभएको बताउँदै साँचो अर्थमा अहिलेको खर्च र कामको परिमाण हेर्दा वास्तविक खर्चको प्रतिशत अझै बढी हुने दाबी गर्नु भयो । उहाँले जनताले अनुभूति हुने गरि नै विकासको काम भएको दाबी मुख्यमन्त्रीले गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button