नेपाली सेनाबाट बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न
बाजुरा। बाजुराको प्रमुख धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल बडिमालिका मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ। करिब दुई महिनाको समय लगाएर नेपाली सेनाले मन्दिर निर्माणको कार्य सम्पन्न गरेको हो।
पुरानो जीर्ण मन्दिर भत्काएर त्यसै स्थानमा कंक्रीट रहित नयाँ मन्दिर निर्माण गरिएको मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिनुभयो। साल, सिसौ, ढुङ्गा र ताम्रपत्र प्रयोग गरी निर्माण गरिएको नयाँ मन्दिरसँगै हवन कुण्ड र हेलिप्याड समेत बनाइएको छ।

२०५० सालदेखि मन्दिर निर्माणका लागि विभिन्न निकायबाट प्रयास भए पनि भौगोलिक विकटता र सामग्री ढुवानीलगायतका कारण निर्माण हुन सकेको थिएन। यसअघि संघीय सरकार, प्रदेश सरकार र पुरातत्व विभागले पहल गरे पनि काम अघि नबढेको पुजारी पाध्यायको भनाइ छ।
नेपाली सेनाको कोषबाट आर्थिक लगानीमा निर्माण सम्पन्न भएको मन्दिरमा पुरातत्व विभागको प्राविधिक सहयोग र डिजाइन स्टिमेट प्रयोग गरिएको छ। सेनाले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षण अन्तर्गत मन्दिर निर्माण गरिएको जनाएको छ।

मन्दिर निर्माणका लागि सामग्रीहरू नेपाली सेनाले मार्तडीबाट हेलिकप्टरमार्फत तथा बडिमालिका नगरपालिका–५ मना क्षेत्रबाट स्थानीय नागरिक र खच्चर प्रयोग गरी ढुवानी गरेको थियो।
समुद्री सतहदेखि ४,२१९ मिटर उचाइमा अवस्थित बडिमालिका नेपालका चार धार्मिक धाममध्ये एक मानिन्छ। यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष मेला र पूजा गरिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकको चाप पनि उल्लेख्य रूपमा बढेको छ।
मन्दिर निर्माणमा लागेको कुल लागतबारे भने नेपाली सेनाले विवरण सार्वजनिक गरेको छैन।

प्रतिक्रिया राख्नुहोस्