‘वितरण व्यवस्थापन निर्देशिका अनुसार अनुदानको मल उपलब्ध गराइरहेका छौँ’
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७’ को व्यवस्थाका आधारमा कृषकलाई अनुदानमा मलखाद उपलब्ध गराउँदै आएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जवाफ दिँदै हाल युरिया मलको खरिद मूल्य प्रतिकिलो ८२ रुपैयाँ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो १४ रुपैयाँ रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय बजारमा मलको निरन्तर मूल्य वृद्धि, चीन लगायतका मल उत्पादक ठूला देशहरूले बेलाबेलामा मलको निकासी बन्द गर्नु तथा रसिया युक्रेन युद्ध र तनावका कारण मल उत्पादन र ढुवानीमा अवरोध आइरहेको बताउनुभयो ।
उहाँले नेपाली मल बजार तुलनात्मक रुपमा सानो भएकाले मलका सप्लार्यसहरु मल आपूर्ति गर्न कम इच्छुक हुनु र विगत केही वर्षदेखी ५ वटा मात्रै सप्लायर्स कम्पनीले बोलपत्र प्रक्रियामा सहभागी हुने गरेका कारण समयमा मल आपूर्तिमा बाधा उत्पन्न हुने गरेको जानकारी पनि गराउनुभयो ।
मन्त्री अधिकारीले हाल मलमा करिब ६६ प्रतिशत अनुदान रहेको जानकारी गराउनुभयो ।
मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरिसकिएको र ४ लाख २४ हजार टन बिक्री गरिसकिएको जानकारी समेत गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्