तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा बाँदरको आतंक: मकै नष्ट हुँदा किसान चिन्तित

बाजुरा । बाजुराका विभिन्न गाउँहरूमा बाँदरको आतङ्कले किसानको मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ।

विशेष गरि बडिमालिका नगरपालिका वडा नम्बर-७ गुल्ढुङ्गा वडा नम्बर-५ मना लगायत जिल्लाका ९ ओटै स्थानीय तहका लेकाली भूभागमा लगाएका मकै बालीहरू बाँदर आतङ्क बाट प्रभावित बनेका छन्। 

बडिमालिका नगरपालिका-७ सिराडिका कृषक जंग विकका अनुसार विगत केही सातादेखि बाँदरका झुन्डहरूले बारीमा पसेर मकैका बोट उखेलेर नष्ट पार्ने, अर्ध पाकेको मकै खाने लगायतका कार्यले ठूलो नोक्सानी पुगेको छ। 

कृषक विकले भन्नुभयो, “हामी दिनरात खेतमै बसेर बाँदर धपाउँदैछौं, तर बाँदरको सङ्ख्या धेरै भएकोले बाली जोगाउन हम्मे परेको छ।” यतिबेला मकैको मुख्य सिजन भएको र यस बालीमा आश्रित भएर वर्षभरिको खाद्यान्न जोहो हुने भएकाले बाँदर आतङ्कले किसानहरूलाई ठूलो सङ्कटमा पारेको छ।

बाँदर आतङ्कको समस्या समाधानका लागि पटक–पटक स्थानीय निकाय र सरोकारवाला कार्यालयमा गुनासो गरे पनि अझसम्म कुनै ठोस पहल नभएको स्थानीयको गुनासो छ।कृषि ज्ञान केन्द्र बाजुराले बाँदर धपाउने यन्त्र प्रत्येक स्थानीय गाउँहरूमा दिएको भए पनि पछिल्लो समय त्यसले काम गर्न छोडेको कृषकहरूको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button