खजुराका ८ वटै वडालाई विशिष्ट बालीका लागि ‘पकेट क्षेत्र’ घोषणा
बाँके।बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रम अन्तर्गत कृषकहरूलाई शतप्रतिशत अनुदानमा कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ।
उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि अभ्यासको विस्तार गर्ने उद्देश्यले सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ ले जानकारी दिनुभयो।
गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार, संवेदनशील अध्ययनको आधारमा खजुराका सबै ८ वडालाई विशिष्ट बाली उत्पादनका लागि ‘पकेट क्षेत्र’ घोषणा गरिएको हो। वडा नं १ मा बेसार, वडा २ मा टमाटर, वडा ३ मा काँक्रो र अन्य तरकारी, वडा ४ मा च्याउ र धान, वडा ५ र ६ मा धनिया र विविध तरकारी, वडा ७ मा लसुन र प्याज तथा वडा ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखिएको छ।
कृषि पेशालाई व्यवस्थित बनाउने लक्ष्यका साथ कृषक समूह तथा दर्ता भएका फर्महरूलाई मिनी टिलर, कालो पाइप, सिँचाइ उपकरणलगायत सामग्री वितरण गरिएको हो। हालै सम्पन्न एक भेलाबाट ५० मध्ये २५ जना कृषक ‘कृषक पाठशाला’का लागि छनोट गरिएको गाउँपालिकाले जनाएको छ। वितरणमा ८ वटा कृषक समूह र करिब १५ वटा फर्म सहभागी भएका थिए।
प्रतिक्रिया राख्नुहोस्