तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जनकपुरधाम । मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको घोषणा सभामा मधेश प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन प्रदेशको रुपमा घोषणा भएको हो । 

कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै जनसङ्ख्या भएको मधेश प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासम्बन्धी प्रमाणपत्र मन्त्रालयका वाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले प्रदेश सरकारलाई प्रदान गर्नुभयो ।

मधेश प्रदेशमा एक डोज खोप नलिएका २ सय १३ जना बालबालिकालाई खोजेर खोप लगाउनुका साथै १२ हजार २ सय ३० जना बालबालिकाले कुनै न कुनै खोप छोडेकोले तिनीहरूलाई खोजेर घरघरमा पुगी खोप लएपछि मधेश प्रदेश देशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको स्वास्थ्य निर्देशनालयका खोप प्रमुख लक्ष्मेश्वर झाले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेश देशमा नै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश बनेकोमा सबै स्वास्थ्य क्षेत्रका कर्मचारीहरूलाई बधाई दिनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख एवं जिल्ला खोप समन्वय समिति प्रमुख राजनन्दन मण्डलले मधेश प्रदेश देशमा नै पहिलो पूर्ण खोप सुनिश्चितता भएको प्रदेश बनेकोमा गर्भको अनुभूति भएको बताउँदै यसलाई निरन्तरता दिनका लागि सुझाव दिनुभयो ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश बन्नमा योगदान दिनु भएका स्वास्थ्य क्षेत्रका कर्मचारी तथा अन्य व्यक्तिहरूलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंहले दोसल्ला ओढाएर कदर पत्र प्रदान गरि सम्मानित गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button