तपाईँ सुन्दै हुनुहुन्छः

बीमा रकम नपाउँदा भेरी अस्पतालको सेवा प्रभावित

बाँके। भेरी अस्पताल नेपालगञ्जले स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नपाउँदा सेवा प्रवाह प्रभावित हुने अवस्था आएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार बीमा रकम समयमै नआउँदा अस्पतालको सेवा सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ। उहाँले भन्नुभयो, “बिरामीले सेवा लिएको भुक्तानी फिर्ता माग्नुपर्ने हुन्छ, तर रकम नआउँदा अस्पतालको आर्थिक व्यवस्थापनमा अप्ठेरो परेको छ।”

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ मा १९ करोड ७० लाख रुपैयाँ भुक्तानी दिनुपर्नेमा हालसम्म मात्र ३ करोड ७० लाख रुपैयाँ दिएको छ। गत वर्षको ९० लाखमध्ये केही दिनअघि मात्रै ८१ लाख मात्र भुक्तानी गरिएको छ। बोर्डले अस्पताललाई कुल १६ करोड ९ लाख रुपैयाँ अझै दिन बाँकी छ।

डा. सुवेदीका अनुसार आवश्यक औषधि, अक्सिजन, प्रयोगशाला सामग्री, डायलाइसिस र क्याथ ल्याबका लागि आवश्यक रसायनहरू खरिद गर्न नसकिने अवस्था आएको छ। एक वर्षदेखि व्यापारी र सप्लायर्सलाई भुक्तानी गर्न नसकिएको र अहिले १४ करोड रुपैयाँको बाँकी रहेको उहाँले बताउनुभयो।

“अब व्यापारीहरूले पनि उधारोमा सामान दिन नसक्ने अवस्था आइसकेको छ, जसले गर्दा अस्पतालको नियमित सेवा सञ्चालन नै कठिन हुँदै गएको छ,” उहाँले भन्नुभयो।

भेरी अस्पताल विकास समितिका डा. डक्ट प्रसाद धितालले बीमा अनिवार्य बनाएको सरकार आफैँले समयमै रकम नदिँदा बीमा कार्यक्रम ‘निल्नु न ओकल्नु’ जस्तो बनेको टिप्पणी गर्नुभयो। “सरकारले यदि भुक्तानी दिन सक्दैन भने बीमा कार्यक्रम हटाउनुपर्छ, वा बोर्डले नियमित भुक्तानी गर्नुपर्छ,” धितालको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button