तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर घटना: मृतक चारै जनाको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइयो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गए राति १ः०० बजेतिर ससुराली पक्षका एकै परिवारका चार जनाको सामूहिक हत्यामा संलग्न ज्वाइँ राजेन्द्र राईलाई थप उपचारका लागि धरान पठाइएको छ भने चार जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ । 

आफ्नो श्रीमतीलाई ससुरालीमा लिन गएका राजेन्द्रले मध्यराती ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो नौ वर्षका सपन गिरीको हत्या गरेका थिए । सो पश्चात् राजेन्द्रले ‘मैले चार जनालाई छुरी हानेर आएको छु । सायद मरिसके होलान्’ भन्दै प्रहरीलाई फोन समेत गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार ज्वाइँ राजेन्द्र गाउँपालिकाको वडा नम्बर १ को हुर्बुभञ्ज्याङ भन्ने ठाउँमा पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए । सो पश्चात् उनलाई भोजपुर जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार गरी उनलाई थप समस्या हुन नदिन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

सामूहिक हत्यामा परेका ससुराली पक्षको शव भने आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रीमती लिन गएका राजेन्द्रलाई ससुराली पक्षले सहजरुपमा छोरी नदिएपछि यो घटना घटन गएको देखिएको छ । 

मनिषा र राजेन्द्रका बीचमा करिब नौ महिना अगाडी प्रेम विवाह भएको थियो । तर ससुराली पक्षले यो विवाहलाई सहजरुपमा मानेको थिएन । राजेन्द्र केही दिनदेखि श्रीमती लिन ससुराली गाउँमै थिए । 

राजेन्द्रले प्रहरीलाई ससुरालीमा सासुले छुरा देखाएर आक्रमण गरेपछि त्यही छुरा खोसेर चारै जनाको हत्या गरेको बयान दिएका थिए । विवाद चर्कँदै गर्दा घटनाले ठुलो रूप लिएको प्रहरीले जनाएको छ । राजेन्द्रको घर भने भोजपुर नगरपालिका वडा नम्बर २, हैलोछा हो ।

घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्ति पनि आफै घाइते भएकाले विस्तृत विवरणहरू आउन नसकिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button