तपाईँ सुन्दै हुनुहुन्छः

खार्पु बेलीब्रिज उद्घाटन गर्दै प्रधानमन्त्री ओली: राष्ट्रिय सडक सञ्जालमा सिमकोटको प्रवेश

सिमकोट।प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुम्लाको खार्पुनाथस्थित चुवाखोलामा निर्माण सम्पन्न खार्पु बेलीब्रिजको उद्घाटन गर्दै हुनुहुन्छ। उद्घाटनसँगै देशको अन्तिम जिल्ला सदरमुकाम सिमकोट पनि अब राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

निर्वाचनपूर्व २०७९ साल वैशाखमा हुम्ला पुगेर खार्पुमा मोटरेबल पुल निर्माणको वाचा गर्नुभएका ओलीले यसपटक त्यो बाचा पूरा भएको खुसीयालीसाथ उद्घाटन गर्न लाग्नुभएको हो।

कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुमा पक्की पुलको निर्माण ढिलाइ भएपछि वैकल्पिक उपायस्वरूप बेलीब्रिज निर्माणको माग जिल्ला स्तरमै उठेको थियो। पुल निर्माणमा ढिलाइ भएपछि सबै राजनीतिक दलहरूको साझा प्रयासमा बेलीब्रिज निर्माणको मागलाई केन्द्रसम्म पुर्‍याइएको थियो। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पहल र प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्रीपरिषद्ले गत कात्तिकमा बेलीब्रिज निर्माणको निर्णय गरेको थियो।

सरकारको निर्णयपछि नेपाली सेनाले देशका विभिन्न १० स्थानबाट प्राविधिक खटाएर खार्पुमा ४८ मिटर लामो बेलीब्रिज निर्माण गरेको हो। सेनाले काम सुरु गरेको ४० दिनमै पुल निर्माण सम्पन्न गरिसकेको थियो।

प्रधानमन्त्री ओलीसँगै उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति अशोक सिग्देल लगायतको सहभागिता छ।

पुल उद्घाटनसँगै २३ वर्षअघिदेखि निर्माणाधीन कर्णाली कोरिडोरको प्रमुख उपलब्धि पूरा भएको छ। यो कोरिडोर लुम्बिनी प्रदेशको जमुनाहा नाका हुँदै हिल्सा नाकासम्म पुग्ने त्रिदेशीय व्यापार मार्गका रूपमा समेत महत्व राख्दछ।

प्रधानमन्त्री ओलीको हुम्ला भ्रमणका पाँच प्रमुख उद्देश्यहरूमा राष्ट्रिय सडक सञ्जालमा सिमकोटको समावेश, कर्णाली क्षेत्रको समृद्धि, हिल्सा नाका विकास, बीआरआई परियोजनासँग सम्बन्ध, र जलजलेको पेट्रोलियम उत्खननसँग कर्णालीको सम्भाव्यता जोडिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button