तपाईँ सुन्दै हुनुहुन्छः

५ किलोमिटर सञ्चारकर्मी दौडमा पुरुषतर्फ थारु र महिलातर्फ गुरुङ प्रथम

पोखरा । पोखरामा शनिबार सम्पन्न भएको ५ किलोमिटर सडक दौडमा पुरुषतर्फ दिलीप थारु र महिलातर्फ सरिता गुरुङ प्रथम हुनुभएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आफ्नो रजत महोत्सवको अवसरमा शनिबार आयोजना भएको उक्त दौडमा समाधान दैनिकका थारुले २१ मिनेट ०७ सेकेन्ड र महिलातर्फ प्रमुख मिडियाकी गुरुङले ३० मिनेट ४३.०६ सेकेण्डमा उक्त दौड पुरा गर्दै प्रथम स्थान हासिल गर्न सफल हुनुभएको हो ।

प्रतियोगितामा २२ मिनेट १३ सेकेण्डमा उक्त दुरी पार गर्दै पुरुषतर्फ गोल नेपालका अर्जुन हिताङ दोस्रो हुँदा समाधान दैनिकका भिमपाणी बरालले २३ मिनेट ३०.२६ सेकेण्डमा दौड पुरा गरी तेस्रो हुनुभयो । पुरुषतर्फ पब्लिक फोरके टिभिका रिखीराम जिशी चौथो र मयुर टाइम्सका प्रविन मगरले पाँचौँ स्थानमा रहनुभयो । त्यसै गरी महिलातर्फ पत्रकार महासङ्घ कास्कीकी उपाध्यक्ष कन्चन थापा कोइराला दोस्रो, प्राइम टिभीकी सम्वाददाता अनिता घिमिरे तेस्रो तथा मयुर टाइम्सकी प्रशन्ना मानन्धरले चौथो हुनुभयो ।

त्यसै गरी नियमित छात्र÷छात्रा ५ किमी मासिक दौड अन्तर्गत छोरेपाटन माविका तिल बहादुर परियार, प्रकाश थिङ र आयुश सुनार क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । विष्णु पादुकाका विष्णु परियार चौथो र बराह माविका सुमन ढुङ्गाना पाँचौँ हुनुभयो ।

५ किमी छात्रातर्फ मेघराज माविकी एन्जिला जिटी पहिलो, श्रीकृष्ण माविकी स्मृति विक दोस्रो, अमर सिंह माविकी एलिना कार्की तेस्रो र सेन्ट मेरिजकी उपासना जोइ गुरुङ चौथो हुनुभयो । ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत मञ्चले उक्त कार्यक्रम आयोजना गरेको मञ्चका महासचिव केशव पाठकले बताउनुभयो ।

प्रतियोगितामा विजेताहरूलाई अग्रज पत्रकार नारायण कार्की, बद्री विनोद प्रतीक, कृष्ण प्रसाद बाँस्तोला, मञ्चका सल्लाहकार तिलक केसी, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गर्नुभयो । मञ्चले हरेक बर्ष पोखरामा ४२ किलोमिटरको पोखरा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button