जनकपुरधामको ऐतिहासिक मणिमण्डपको स्वरूप फेरिँदै

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
सरकारको १८ करोड ९१ लाखभन्दा बढीको लागतमा जनकपुरधामको मणिमण्ड सहित ५ वटा स्थलको निर्माण भएको थियो । त्यसमध्ये बढी लागतमा बनेको र धार्मिक पर्यटकीय स्थलको रुपमा प्रसिद्ध रहेको मणिमण्डप क्षेत्रको निर्माणकार्य ९५ प्रतिशत पुरा भएको शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं १३ मा रहेको ऐतिहासिक महत्वको मणिमण्डपलाई विश्वका हिन्दुहरूका लागि वैवाहिक स्थलको रुपमा विकसित गर्ने उद्देश्यले सो क्षेत्रमा सुविधा सम्पन्न प्यालेस भवनको निर्माण भएको छ । उक्त भवनमा ७० जना अटाउने हल रहेको छ भने २१ वटा कोठा छन् ।

साथै दुई वटा सुविधा सम्पन्न २४ कोठाको धर्मशाला र विवाह मण्डप भवन र २ वटा पवेलियम रहेको छ ।
जनकपुरधामलाई वैवाहिक गन्तव्य स्थलको रुपमा विकसित गर्ने नेपाल सरकारको नीति अनुसार नै मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम भएको हो ।
करिब साढे तीन विगाह क्षेत्रफल रहेको मणिमण्डप क्षेत्रको सम्पूर्ण काम सकेपछि जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख यादवले जानकारी दिनुभयो ।
काठमाडौँको रविना कन्स्ट्रक्सन ठेक्का पाएको सो आयोजनाको शुरुआत आर्थिक वर्ष २०७४–७५ देखि भएर यही असार भित्रमा सम्पन्न गर्ने गरि अहिले अन्तिम चरणको काम तीव्र रुपमा भइरहेको कन्ट्रक्सनका इन्जिनियर निर्मल कुमार यादवले जानकारी दिनुभयो ।
सडक, ढल तथा गार्डेनसहितको सम्पूर्ण काम सकेपछि यस क्षेत्रको सौन्दर्यीकरणमा थप मद्दत पुग्नुका साथै मणिमण्डप आम्दानीको श्रोत बन्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्