तपाईँ सुन्दै हुनुहुन्छः

रानाथारू भाषाको व्याकरण र शब्दकोशबारे लालझाडीमा सशक्त बहस

कञ्चनपुर। रानाथारू भाषा संरक्षण तथा प्रवर्द्धनका उद्देश्यसहित कञ्चनपुरको लालझाडी गाउँपालिकामा व्याकरण र शब्दकोशका सन्दर्भमा विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। नेपाल रानाथारू महिला संघ कञ्चनपुरको आयोजनामा तथा लालझाडी गाउँपालिकाको सहकार्यमा सोमबार साँझ आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिदेखि भाषाविद्हरूसम्मको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष प्रेमवती रानाले गर्नुभयो भने गाउँपालिका अध्यक्ष निर्मल राना प्रमुख अतिथि रहनुभयो। प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की तथा रानाथारू भाषाका विज्ञ र भूमि आयोग कैलालीका सदस्य कमलसिंह रानाको विशेष उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष रानाले भाषा जातीय पहिचानसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै स्थानीय सरकारले रानाथारू भाषाको संरक्षण र प्रवर्द्धनमा प्राथमिकता दिँदै आएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत सार्कीले संविधानले स्थानीय तहलाई भाषा संरक्षणका नीति तथा कार्यक्रम बनाउने अधिकार दिएको स्मरण गराउँदै समुदायको चासो र आग्रहमा पालिकाले पूर्ण साथ दिने प्रतिबद्धता जनाउनुभयो।

भाषाविद् कमलसिंह रानाले रानाथारू भाषाको संरचना, व्याकरण निर्माण, मौलिक शब्दहरू संकलन र अभिलेखीकरणमा पछिल्लो समय महत्वपूर्ण कार्य भइरहेको उल्लेख गर्दै भाषा संरक्षण भावी पुस्ताका लागि अमूल्य सम्पदा हुने बताउनुभयो।

संघकी अध्यक्ष प्रेमवती रानाले भाषा दस्तावेजीकरण, महिला सशक्तीकरण र सांस्कृतिक पुनर्जागरणमा संघको सक्रियता रहेको उल्लेख गर्दै भाषा संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकार तथा समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, कर्मचारी, उपभोक्ता समूहका प्रतिनिधि, पत्रकारलगायतले रानाथारू भाषालाई विद्यालय शिक्षा, पाठ्यक्रम, रेडियो कार्यक्रम तथा पुस्तकहरू मार्फत प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो। वक्ताहरूले समुदायस्तरमा भाषा प्रशिक्षण, सञ्चार सामग्री उत्पादन तथा राज्यको नीति र बजेटमा भाषा संरक्षणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button