तपाईँ सुन्दै हुनुहुन्छः

कास्की पूर्ण खोप सुनिश्चितता दीगोपना जिल्ला घोषणा

कास्की। कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता दीगोपना जिल्ला घोषित भएको छ। जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा सोमबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले औपचारिक रूपमा उक्त घोषणा गर्नुभएको हो।

मन्त्री पाठकले रोगप्रतिरोधात्मक चेतना अभिवृद्धि गरी नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले खोप कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। सर्ने तथा नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने उल्लेख गर्दै उहाँले प्रदेश सरकार मातहतका अस्पतालहरूको स्तरोन्नतिको कार्य अघि बढाइएको जानकारी दिनुभयो।

उहाँले स्वास्थ्य सेवा सुदृढीकरण अन्तर्गत अस्पतालहरूको क्षमता अभिवृद्धि, सेवा सुविधा विस्तार, नागरिक स्वास्थ्य कार्यक्रमको प्रवर्धन, प्रदेशमै स्वास्थ्य जनशक्ति उत्पादन र विशिष्टीकृत अस्पताल निर्माणको तयारी भइरहेको उल्लेख गर्नुभयो। मानसिक रोगको चुनौती बढ्दो भएकाले त्यसका लागि विशेष अस्पताल स्थापना आवश्यक भएको र त्यसतर्फ काम भइरहेको उहाँको भनाइ छ।

मन्त्री पाठकले महिला स्वास्थ्य स्वयंसेविकाहरूका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल सुरु गरिसकेको पनि जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button