एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले मङ्गलवार भुटानसँग खेल्ने
काठमाडौँ । मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले मङ्गलवार भुटानसँग खेल्दै छ ।
मलेसियाको सिलेगंर ट्रफ क्लबमा खेल नेपाली समय अनुसार मङ्गलवार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवैको यो समूह चरणको अन्तिम खेल हो ।
नेपाल खेलेका तीनै खेलमा अपराजित छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।
भुटानलाई हराउँदै नेपाल अपराजित रुपमा समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इन्डोनेसियालाई हराएको थियो । अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इन्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरूलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्