बीरगंज मेनरोड विस्तार कार्य सुरु, भन्सार क्षेत्रबाट अतिक्रमण हटाउन डोजर परिचालन
बीरगंज। सर्वोच्च अदालतको आदेशपछि आजबाट बीरगंज महानगरपालिकाले वर्षौँदेखि अलपत्र परेको बीरगन्जको मेनरोडको दाँया बाँया २५/२५ मिटर सडकको अतिक्रमण हटाएर फराकिलो बनाउने योजना सुरु गरेको छ ।

नगरप्रमुख राजेशमान सिंहको अगुवाइमा मेनरोडको दाँया बाँया २५/२५ मिटर सडकको अतिक्रमण हटाएर फराकिलो बनाउने योजना अन्तर्गत आज बिहानदेखी बीरगंजको भन्सार क्षेत्रमा नगरप्रहरी परिचालन गरी डोजर चलाएर पक्किघर, घुम्ती पसल,टिकट काउन्टर हटाइएको छ ।

विगतमा अदालतले रोक लगाउँदा थाँती रहेको सडक विस्तारको काम हालै सर्वोच्च अदालतले अनुमति दिएपछि पुनः सक्रिय भएको हो । नगरप्रमुख सिंहका अनुसार अदालतको आदेश पश्चात् घरधनीहरूलाई ३० दिनको सूचना दिइएको थियो ।
सूचना अवधि सकिएसँगै सोमबारदेखि डोजर सहितको टोलीले भन्सार क्षेत्रदेखि सडक विस्तार कार्य अघि बढाएको छ ।

सर्वोच्चको आदेश पालना गर्दै हामीले आजदेखि सडक विस्तारको काम थालनी गरेका छौँ,भन्नुहुँदै नगर प्रमुख सिंहले मेनरोड हुँदै गण्डक चोकसम्म अतिक्रमण हटाएर दाँया बाँया २५/२५ मिटर सडक विस्तार सम्पन्न गरिने बताउनुभयो ।

महानगरले सडक विस्तार अन्तर्गत अवैध संरचना हटाउने कार्य शुरुगरे सँगै अब वीरगञ्जमा फराकिलो सडक बन्ने र ट्राफिक व्यवस्थापन सहज हुने तथा सहरलाई व्यवस्थित र आधुनिक बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सडक विस्तार कार्य अघि बढेसँगै स्थानीय स्तरमा केही विरोधका स्वरहरू उठेका भए पनि अधिकांश नागरिकले सडक विस्तार कदमको समर्थन गरेका छन् । बीरगंजको विकासको मुख्य बाधकको रुपमा रहेको मेनरोडको गण्डकदेखी भन्सार सम्मको साँगुरो सडक बिस्तारले वीरगञ्जको विकासको गन्तव्यलाई अघि बढाउने आशा बीरगन्जका आम नागरिकले लिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्