तपाईँ सुन्दै हुनुहुन्छः

बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० सहित सात वडालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। यससँगै स्थानीयहरू बाढी जस्ता विपद्सँग जुध्नका लागि पूर्वतयारीमा जुटेका छन्।

स्थानीयहरूले जोखिमको नक्सा तयार गरी संवेदनशील घरमा रातो झण्डा राखेका छन्। ती झन्डामा बालबालिका, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, अशक्त र ज्येष्ठ नागरिकहरूको सङ्केत उल्लेख गरिएको छ। यसले विपद् आउँदा उद्धारकर्मीलाई प्राथमिकताका आधारमा उद्धार गर्न सहज बनाउने स्थानीय बताउँछन्।

स्थानीय निर्मला सुनारका अनुसार, “उच्च जोखिममा रहेका बस्ती पहिचान गरेर हामी पूर्वतयारीमा लागेका छौँ। सबै घरमा सङ्केत झण्डा टाँगिएको छ, जसले उद्धारमा सहयोग पुर्‍याउँछ।”

वडाध्यक्ष चन्द्रबहादुर सिंहले विपद् पूर्व तयारीका लागि बाढीको उच्च जोखिममा रहेका बस्तीहरूमा साङ्केतिक रातो झण्डा राखिएको जानकारी दिए। उनका अनुसार दोधारा चाँदनी–१० का ४५ घरमा हालसम्म रातो झण्डा राखिएको छ।

जोगबुडा र महाकाली नदीको कटानले यहाँका तीन वडालाई हरेक वर्ष प्रभावित बनाउँदै आएको छ। ४९ परिवार बसोबास गर्दै आएको कुतियाकवर बस्तीमा हाल ३९ परिवार मात्र छन्। बाँकी केही भारत गएका छन् भने केही सुरक्षित स्थानमा सरेका छन्।

पूर्वमा महाकाली, उत्तरमा जोगबुडा र दक्षिणमा भारतसँग जोडिएको कुतियाकवरमा बर्सेनि जमिन कटान हुँदै आएको छ। वि।सं। २०७४ मा जोगबुडा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसँग जोडिएको यो बस्ती बाढीले बर्सेनि साँघुरिँदै गएको छ। करिब ५० बिघा क्षेत्रफलको यो बस्ती अहिले कटानको उच्च जोखिममा रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button