तपाईँ सुन्दै हुनुहुन्छः

दुई मुर्रा राँगाबाट १५ हजार डोज वीर्य उत्पादन, ७ हजार डोज वितरण

बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन र वितरण सुरु गरेको छ। कार्यालयका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालका अनुसार, गत वर्ष भारतबाट ल्याइएका तीन मुर्रा राँगामध्ये दुईवटाबाट वीर्य संकलन र उत्पादन हुँदै आएको छ।

उहाँका अनुसार अहिलेसम्म १५ हजार डोज वीर्य उत्पादन भइसकेको छ भने ७ हजार डोज वितरण गरिएको छ। वीर्य परीक्षणपछि कृत्रिम गर्भाधान गरिएकी एक किसानको भैंसीबाट पहिलो पाडा उत्पादन भइसकेको छ। यो नेपालमा ल्याइएका १५ भारतीय मुर्रा राँगामध्येबाट प्राप्त पहिलो सन्तान हो।

कार्यालयमा नेपालगञ्ज मुर्रा, जर्सी र होलिष्टेन साँढे, बोयर बोका लगायतका जनावरसमेत राखिएको छ। उत्पादन गरिएको वीर्य लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पठाउने गरिएको छ।

एक डोज वीर्यको मूल्य नेपाल सरकारले प्रतिडोज ५० रुपैयाँ तोकेको छ। भारत सरकारले अनुदानस्वरूप दिएको १५ मुर्रा राँगामध्ये ७ वटा पोखरा, ५ वटा लाहान र ३ वटा नेपालगञ्जमा राखिएका छन्। तीमध्ये नेपालगञ्जस्थित कार्यालयमा राखिएका दुई राँगाबाट वीर्य संकलन भइरहेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button