अमेरिकी सिनेटमा ट्रम्पको विवादास्पद खर्च विधेयकमाथि बहस सुरु
वासिङ्टन। अमेरिकी सिनेटरहरूले शनिबार डोनाल्ड ट्रम्पको ‘ठूलो सुन्दर’ खर्च विधेयकमाथि बहस सुरु गरेका छन् । यो एउटा अत्यधिक विभाजनकारी प्रस्ताव हो जसले अमेरिकी राष्ट्रपतिको घरेलु एजेन्डाका प्रमुख भागहरू प्रदान गर्नेछ तर सामाजिक कल्याण कार्यक्रमहरूमा ठूलो कटौती गर्नेछ ।
ट्रम्पले आफ्नो विरासतलाई ‘वन बिग ब्युटिफुल बिल’ का साथ प्रमाणीकरण गर्ने आशा गरिरहनुभएको छ, जसले उहाँको पहिलो कार्यकालको कर कटौतीलाई ४५ खर्ब डलरको लागतमा विस्तार गर्नेछ र सीमा सुरक्षालाई सुदृढ पार्नेछ ।
तर सन् २०२६ को मध्यावधि कङ्ग्रेसले चुनावलाई ध्यानमा राखेर रिपब्लिकनहरू प्याकेजलाई लिएर विभाजित छन् । उक्त प्याकेजले लाखौँ गरिब अमेरिकीबाट स्वास्थ्य सेवा खोस्नेछ र देशको ऋणमा ३० खर्ब डलरभन्दा बढी थप्नेछ ।
रिपब्लिकन विरोधीहरूले प्रक्रियागत मतदानमा ढिलाइ गरेपछि सिनेटले शनिबार राति औपचारिक रूपमा विधेयकमा बहस सुरु गरेको छ । रिपब्लिकन विरोधीहरूको प्रक्रियागत मतदानमा ढिलाइले सामाजिक सञ्जालमा ट्रम्पको आक्रोशलाई बढाएको छ ।
उपराष्ट्रपति जेडी भान्स आफ्नै पार्टीका विरोधीहरूसँग वार्तामा सामेल हुनुभएपछि सिनेटरहरूले बहस सुरु गर्ने प्रस्तावलाई ५१–४९ ले पारित गरे ।
अन्ततः दुई रिपब्लिकन सिनेटर ४७ डेमोक्रेटहरूसँग प्रारम्भिक बहसमा ‘होइन’ मतदानमा सामेल भए ।
ट्रम्पले आफ्नो पार्टीलाई विधेयक पारित गराउन र संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ सम्म कानुनमा हस्ताक्षर गर्न आफ्नो डेस्कमा दबाब दिनुभएको छ ।
डेमोक्रेटहरू यस कानून र ट्रम्पको एजेन्डाको कडा विरोधमा छन् र बहसलाई रोक्ने प्रतिज्ञा गरेका छन् । तिनीहरूले बहस सुरु गर्नुअघि सम्पूर्ण विधेयकलाई सदनमा ठूलो स्वरमा पढ्न जोड दिएर सुरुआत गरे ।
विधेयक लगभग एक हजार पृष्ठको छ र पढ्न अनुमानित १५ घण्टा लाग्नेछ ।
“रिपब्लिकनहरूले अमेरिकालाई विधेयकमा के छ भनेर बताउँदैनन्”, सिनेटका डेमोक्रेटिक नेता चक सुमरले भन्नुभयो, “त्यसैले डेमोक्रेटहरूले यसलाई सुरुदेखि अन्त्यसम्म फ्लोरमा पढ्न बाध्य पार्दैछन् । यदि यो पढ्न आवश्यक छ भने हामी यहाँ रातभरि रहनेछौँ ।”
यदि सिनेटमा पारित भयो भने विधेयक अनुमोदनका लागि सदनमा फर्किनेछ । सदनमा रिपब्लिकनहरूले केही मतहरू मात्र गुमाउन सक्छन् र आफ्नै श्रेणीभित्रबाट कडा विरोधको सामना गरिरहेका छन् ।
– विभाजनकारी कटौती –
रिपब्लिकनहरू ट्रम्पको कर राहतको ४५ खर्ब डलर लागत भर्न सङ्घर्ष गरिरहेका छन् । प्रस्तावित कटौतीहरू मुख्यतया मेडिकेडको फन्डिङ नष्ट गरेर आउनेछन्, जुन कम आम्दानी भएका अमेरिकीहरूका लागि स्वास्थ्य बीमा कार्यक्रम हो ।
रिपब्लिकनहरू मेडिकल कटौतीमा विभाजित छन् । यसले ग्रामीण अस्पतालहरूलाई खतरामा पार्नेछ र अनुमानित ८६ लाख अमेरिकीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्नेछ ।
खर्च योजनाले ट्रम्पका पूर्ववर्ती जो बाइडेनको नेतृत्वमा राखिएको नवीकरणीय ऊर्जाका लागि धेरै कर प्रोत्साहनहरू पनि फिर्ता गर्नेछ ।
शनिबार ट्रम्पका प्रमुख सहयोगी एलन मस्कले वर्तमान प्रस्तावलाई ‘पूर्णरूपमा पागल र विनाशकारी’ भन्नुभयो । मस्कसँग राष्ट्रपति ट्रम्पले यस महिना विधेयकको आलोचना गर्दा सार्वजनिक रूपमा झगडा गर्नुभएको थियो ।
“यसले विगतका उद्योगहरूलाई ह्यान्डआउट दिन्छ भने भविष्यका उद्योगहरूलाई गम्भीर नोक्सान पुर्याउँछ”, मस्कले भन्नुभयो । मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ र टेस्ला इलेक्ट्रिक वाहन कम्पनी र स्पेसएक्स स्पेस फ्लाइट फर्मका मालिक पनि हुनुहुन्छ ।
स्वतन्त्र विश्लेषणले यो विधेयकले सबैभन्दा गरिब १० प्रतिशत अमेरिकीबाट सबैभन्दा धनीमा सम्पत्तिको ऐतिहासिक पुनः वितरणका लागि मार्ग प्रशस्त गर्ने पनि देखाउँछ ।
व्यापक हालैको सर्वेक्षण अनुसार यो विधेयक बहु जनसाङ्ख्यिक, उमेर र आय समूहहरूमा अलोकप्रिय छ ।
सदनले पहिले नै आफ्नै संस्करण पारित गरिसकेको भए पनि कानुनमा हस्ताक्षर गर्नुअघि दुवै सदन एउटै पाठमा सहमत हुनुपर्दछ । रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्