किसानको जीवनस्तर सहज बनाउने योजना ल्याउनुपर्नेमा नेता सिटौलाको जोड
झापा । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले किसानको विकासबिना मुलुकको विकास सम्भव नहुने बताउनु भएको छ ।

आज झापाको हल्दिबारीमा नेपाल किसान महासङ्घ झापाले आयोजना गरेको धान रोपाइँ महोत्सवमा नेता सिटौलाले संविधानले किसानका विषयलाई प्राथमिकता दिएकाले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर सहज बनाउने किसिमका योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेता सिटौलाले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको उल्लेख गर्दै राज्यको अनुदान वास्तविक किसानसम्म पुर्याउनुपर्ने बताउनुभयो । किसानलाई समयमै बीउ, मल र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता राज्यले गर्नुपर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा नेपाल किसान महासङ्घका जिल्ला अध्यक्ष रतन सुब्बाले मल अभाव, चैते धानको मूल्य नपाएको लगायत किसानका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै नेता सिटौलालाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्