कञ्चनपुरको हनुमाननगरमा भारी वर्षा, चौधर खोलामा बहाव बढ्न सक्ने
कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको हनुमाननगरमा भारी वर्षा मापन गरिएको जनाएको छ । विभागका अनुसार आइतबार बिहान करिब दुई घण्टासम्म भारी वर्षा मापन गरिएको हो भने अहिले पनि मध्यम खालको वर्षा जारी छ ।
वर्षाका कारण चौधर नदीसहित अन्य साना खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“नदी किनार, होचा भू-भाग र डुबानको जोखिम हुने स्थानमा बसोबास गर्ने नागरिकहरू तत्काल सतर्क बन्नुहोस्,” विभागले भनेको छ । आवश्यक परेमा सुरक्षित स्थानमा सर्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ ।
वर्षा निरन्तर भइरहेमा खोलानालामा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने भएकाले विभागले जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सुरक्षाका उपाय अपनाउन सुझाव दिएको छ । साथै, मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागको वेबसाइट वा सामाजिक सञ्जाल प्रयोग गर्न पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्