तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा देशकै ठूलो चक्ला वन निर्माण

बाँके । बाँकेमा वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत देशकै ठूलो चक्ला वन निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बाँकेले सञ्चालन गरेको माथेवास–शमशेरगन्ज चक्ला वन दुई हजार पाँच सय ८० हेक्टरमा फैलिएको छ।

डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार वैज्ञानिक विधिबाट बृद्ध, पुराना र काम नलाग्ने रुख हटाएर साल प्रजातिका नयाँ रुख हुर्कने वातावरण तयार गरिएको हो।

गुप्ताले जानकारी दिनुहुँदै भन्नुभयो, “३० सेन्टिमिटरभन्दा माथिका रुख कटान गरी नयाँ सालका रुख हुर्काउने वातावरण बनाइँदैछ। चक्ला वन कार्यक्रमले देशलाई काठमा आत्मनिर्भर बनाउन मद्दत गर्नेछ।”

आर्थिक वर्ष २०७३/७४ देखि सञ्चालनमा आएको चक्ला वन कार्यक्रम अन्तर्गत बाँकेमा बनाइएको चक्ला वनलाई सात उपखण्डमा विभाजन गरिएको छ। कुल ५६ वटा पुनः उत्पादन खण्डमा १०–१० वर्षको अवधिमा पुराना बुट्यान हटाउने योजना बनाइएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा चक्ला वनबाट ५६ करोड चार लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको गुप्ताले जानकारी दिनुभयो।

माथेवास–शमशेरगन्जपछि डिभिजन वन कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिका–१ र ४ मा पर्ने दुई हजार दुई सय हेक्टर क्षेत्रफलको वनलाई ‘सिक्टा चक्ला वन’को रूपमा विकास गर्न तयारी गरेको छ।

वन क्षेत्रलाई सुरक्षित राख्न हरेक खण्डमा अग्निरेखा निर्माण गरिएको र १७ जना अग्नि नियन्त्रक परिचालन गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button