खजुराको न्यायिक समितिमा २५८ मुद्दा दर्ता, १९४ मेलमिलापबाट फर्छ्योट
बाँके।बाँकेको खजुरा गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको असार १३ गतेसम्म २५८ वटा विवादसम्बन्धी मुद्दा दर्ता भएका छन्। तीमध्ये १९४ वटा मेलमिलापमार्फत फर्छ्योट भएका छन् भने ५७ वटा प्रक्रियामा छन्। ७ वटा मुद्दामा असहमति जनाइएको छ।
न्यायिक समितिकी संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लका अनुसार सम्बन्धविच्छेद, महिलामाथिको हिंसा, जग्गा अतिक्रमण, पालनपोषण, बाली नोक्सानी, बाटो विवादजस्ता विषयमा बढी उजुरी आउने गरेका छन्।
“वर्षौं गाउँघरमै अल्झिएका विवादसमेत समितिमा आएपछि मेलमिलाप भएको छ,” उपाध्यक्ष मल्लले बताउनुभयो, “फैसलाको तुलनामा मेलमिलापबाट समस्या समाधान प्रभावकारी देखिएको छ।”

न्यायिक समितिका अनुसार जग्गाको साँधसीमा, भोगचलन, घरेलु हिंसालगायतका विषयमा मेलमिलाप गरिएको छ। वर्षौं अदालतमा अड्केका मुद्दा समितिबाट छिटो टुंगोमा पुग्नुका साथै खर्च कम र कानुनी झन्झटसमेत घट्ने गरेको स्थानीयले अनुभव गरेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ मा समितिले विनियोजित २५ लाख ६० हजार रुपैयाँमध्ये ७५ प्रतिशत खर्च गरेको छ। बाँकी रकम आंशिक रूपमा खर्च हुन बाँकी छ। समितिले अन्तरक्रिया, न्यायिक मामिला व्यवस्थापन प्रणाली (सफ्टवेयर), समीक्षात्मक कार्यक्रम, मेलमिलापकर्ताका लागि पुरस्कार तथा तालिम, पदाधिकारीको ड्रेस खरिदलगायत गतिविधि सञ्चालन गरेको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिलाई सामान्य विवादमा मेलमिलाप र निरूपण गर्ने अधिकार प्राप्त छ। कुलो, पानी, जग्गा प्रयोग, ज्येष्ठ नागरिकको हेरचाह, बालबालिकाको पालनपोषण, ज्याला मजदुरी, घरपालुवा जनावरको क्षति जस्ता विषयमा समिति निर्णय गर्न सक्षम छ।
प्रतिक्रिया राख्नुहोस्