तपाईँ सुन्दै हुनुहुन्छः

तीनै तहका सरकारबीच घनीभूत समन्वय र सहकार्य जरुरी : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले तीनै तहका सरकारका बीचमा समन्वय तथा सहकार्य विना प्रदेश एवं देशको विकास कठिन हुने बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको ‘अन्तर–सरकार सम्बन्धका सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले संविधान तथा कानूनले दिएको अधिकार अनुसार तीनै तहका सरकारले राम्रोसँग सहकार्य गरेर कामकाज गरेको खण्डमा अहिले देखिएका समस्याहरूको समाधान भएर तीनै तहका सरकारको काम जनताले राम्रोसँग अनुभूति गर्ने र यसले देशको विकासमा गति आउने विश्वास व्यक्त गर्नुभयो ।  ।

मुख्यमन्त्री सिंहले अहिले धेरै विषयहरूमा तीनै तहका सरकारका बीचमा राम्रोसँग समन्वय नभएको र अन्योलको अवस्था रहेका कारणले नै अहिलेको शासन व्यवस्था प्रतिको गुनासो बढ्न थालेको बताउनु भयो ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान तथा कानूनले दिएको अधिकारका विषयमा पटक पटक विवाद हुने गरेका कारणले विकासको कामले गति लिन नसकेको बताउनु भयो । उहाँले अहिलेको शासन व्यवस्था देशमा नै उत्कृष्ट भएको बताउँदै यसलाई बदनाम गर्ने कुचेष्टा भइरहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा व्यथित सहितका व्यक्तिहरूले अन्तर सरकारका विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि एवं प्रदेश सरकारका मन्त्रीहरू सहभागी रहनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button