गण्डकी प्रदेशको बजेट बहुमतले पारित
कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ल्याएको वार्षिक बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सरकारले उक्त वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट यही असार १ गते सार्वजनिक गरेको थियो ।

आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङले प्रदेश सभामा उक्त बजेट पेश गर्नु भएको थियो ।बजेटको पक्षमा काँग्रेस र एमालेका सांसदको समर्थन थियो । प्रतिपक्षी माओवादी विपक्षमा उभियो भने राप्रपा तटस्थ बस्यो ।
बजेट चालु आर्थिक वर्षको भन्दा ९९ करोड ८५ लाख ७६ हजारले कमी रहेको छ । चालु आवका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षको बजेट अन्तर्गत पुँजीगत खर्च १९ अर्ब ९ करोड ३३ लाख २४ हजार ५९.७ प्रतिशत, चालु खर्च १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार ३९.५ प्रतिशत र वित्तीय व्यवस्था २५ करोड ०.८ प्रतिशत रहेको छ ।
यो बजेटको स्रोतका लागि नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार र रोयल्टी बाँडफाँट ४९ करोड ८९ लाख ७७ हजार रहेको छ । सशर्त अनुदान ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदान ६३ करोड ९७ लाख, विशेष अनुदान ४९ करोड ८६ लाख, प्रदेशको आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार, यस वर्षको नगद मौज्दात २ अर्ब २४ करोड ५० लाख ९४ हजार र आन्तरिक ऋण १ अर्ब ७५ करोड बजेटको स्रोत रहेको छ ।
यसअघि बजेटमाथिको छलफलका क्रममा सांसदहरुले राखेको जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्